काठमाडौँ २० गत , चैत १५ गतेको तीनकुने हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईं धरौटी बुझाएर डिल्लीबजार कारागारबाट रिहा भएका छन्। उच्च अदालत पाटनले सोमबार उनीमाथि लागेको दुई फरक मुद्दामा धरौटीमा छाड्न आदेश दिएपछि आज उनी रिहा भएका हुन्।
राज्यविरुद्धको कसुरमा अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। उक्त आदेश न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासबाट जारी भएको हो। यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई उच्च अदालतले उल्टाएको हो।
यसबाहेक, बैंकिङ कसुरसम्बन्धी बेग्लै मुद्दामा पनि उच्च अदालतले उनलाई २५ लाख रुपैयाँ धरौटी वा बैंक जमानतमा तारिखमा छाड्न आदेश दिएको छ। सो आदेश न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासबाट आएको हो।
गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा भएको आगजनी, तोडफोड र हिंसाका कारण दुर्गा प्रसाईंसहित ७ जनाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो। उनीहरुलाई काठमाडौं जिल्ला अदालतले जेठ ३० गते थुनामा पठाउने आदेश दिँदै डिल्लीबजार कारागार चलान गरिएको थियो।
उक्त घटनामा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए।

