रौनक यादव / मधेस
यो एनिमेको नि तपाईंले राखेको ? म नि हेर्ने गर्छु... यो त वान पिसको रहेछ ।'
पौरखी एक युवाको मुखबाट यस्तो सामान्य प्रश्न सुन्दा लाग्छ, उनी कुनै टोलछिमेकको साथी हुन्, जो सँगै टिभी हेर्न बोलाउने खालका छन् । तर उनी साधारण व्यक्ति मात्र होइनन् – उनी हृदयेन्द्र शाह हुन्, पूर्वराजपरिवारका सदस्य ।
राजतन्त्रको सिस्नुपानीझैं बल्छी बनेर टाँसिइरहेको देशमा उनीजस्ता युवाको गतिविधि नियाल्नु रहर मात्र होइन, सन्देशपनि हो । जस्तो–सुकै विशेष पृष्ठभूमिबाट आए पनि यदि कसैले आफ्नो व्यवहार, बोलीचाली र जीवनशैलीले आम नागरिकको विश्वास जित्न सक्छ भने, त्यो हृदयेन्द्र हुन् ।
जुन घरानामा उनी हुर्किए, त्यहाँ विशेष अनुशासन, विशेष शिष्टाचार र 'विशिष्ट' व्यवहारको अपेक्षा स्वाभाविकै हो । तर उनी ती साँचाबाट निस्किएजस्ता लाग्छन् । उनी न विद्रोही छन्, न निरंकुश– उनी ‘साधारण’ छन् । यही साधारणता नै उनलाई असाधारण बनाइरहेको छ ।
सहजताको राजनीतिमा नयाँ अनुहार
जब देशका नेता–मन्त्रीका छोरा–नातिहरूले विशेषाधिकारको घोक्रो फुक्दै जनताको पर्खाल भत्काइरहेका छन्, त्यही बखत हृदयेन्द्र चुपचाप कर्णालीको चिसो पानीमा खुट्टा चोप्लिरहेका छन् । गोरेटोमा हिँडिरहेका छन्, बगैंचाको ओखर चाखिरहेका छन्, हात उठाएर गाउँका बुढीआमालाई नमस्कार गरिरहेका छन् ।
उनी कुन उद्देश्यले त्यहाँ गएका थिए ? प्रचारको लागि ? अभ्यासको लागि ? वा जनताको हृदय पढ्न ?
– थाहा छैन ।
तर जो देखियो, त्यो यथार्थ थियो : उनी 'राजा' जस्तो थिएनन्, उनी 'हिरो' देखिन्थे ।
हृदयेन्द्रले के सोचिरहेका छन् ?
उनलाई देख्दा, धेरैको मनमा प्रश्न उठ्छ–
उनी के बन्न चाहन्छन् ? राजा ? नेता ? कलाकार ? अथवा साधारण नेपाली नागरिक ?
यो प्रश्न उनी आफैंमा गुम्सिएको हुन सक्छ, तर उनका हरेक क्रियाकलापले जनतामा एउटा नवीन सन्देश दिइरहेका छन्–
"म तपाईंसँग छु, तपाईंबीच छु ।"
पञ्चकली बुढाको प्रश्न– ‘हाम्रो नेपाल अब कहिले समृद्ध हुन्छ होला ?’
हृदयेन्द्रको सहज जवाफ–
"मान्छेले राम्रो काम गर्यो भने, सबै कुरा राम्रो चल्यो भने त हुन्छ होला । अलिकति हामी पनि लाग्नुपर्यो, आँट गर्नुपर्यो । हुन्छ होला ।"
यो जवाफमा न त कुनै राजनीतिक भाषण छ, न त वाग्धनी । यो एक नेपाली युवाको आवाज हो, जो इतिहासको गहिरो छायाँबाट निस्केर भविष्यको उज्यालोतिर हिंड्न खोजिरहेको छ ।
राजा कि हिरो ?
हृदयेन्द्र अहिले न त पदमा छन्, न त राजनीतिको हल्लामा । तर पनि, उनी चर्चामा छन् । उनका पाइला जनतासम्म पुगेका छन् ।
राजा त इतिहासले बनाउँछ,
हिरो त समाजले छान्छ ।
आज हृदयेन्द्र शाहको छायाँ नेपाली समाजको आशाको घामसँग मिसिँदै गएको छ ।
त्यसोभए प्रश्न अब यस्तो हुन सक्छ :
‘उनी राजा बन्न चाहन्छन् कि जनताको हिरो ?’
– र जनताले चाहिरहेका छन् : ‘हाम्रो हिरो।’

